कसरी गर्ने लक्ष्मी पुजा : के–के पर्छन त्यस भित्र

मिती: 2022-09-12
news-banner

खोटाङ, कार्तिक १५ । तिहारमा काग, कुकुर, गाई र गोरुको पूजासँगै लक्ष्मीको पनि पूजा गरिन्छ । कार्तिक कृष्ण औँसीको दिन घरलाई सफासुग्घर पारेर लिपपोत गरी दीपावली गरेर लक्ष्मी पूजा गर्दा धनधान्यले परिपूर्ण भई आरोग्य प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।

यसैगरी धन्तेरसको दिन पनि लक्ष्मीको विधिपूर्वक पूजाआजा गरिन्छ । हिन्दु धर्ममा हरेक देवताको निश्चित चिह्न, पदार्थ, फूल, विरुवा, पात, खानेकुरा, चरा, जनावर सम्बन्धित भएको देखाएको छ । यो सम्बन्धको विशेष महत्व छ । 

यी सम्बन्धित कुरा शुद्ध र पवित्र पनि मानिन्छ । यसले देवीदेवतालाई प्रशन्न पार्ने काम पनि गर्छ । लक्ष्मी पुजाका बारेमा केही कुराहरु जान्नुस :

लक्ष्मी भगवानले कमलको फूल निकै नै मन पराउनुहुन्छ । लक्ष्मीको आफ्नो आसनमा मात्र होइन दुवै हातमा कमलको फूल हुन्छ । 

यसैगरी कमलको कोपिलालाई माला बनाएर लगाउनुहुन्छ । यही कारणले गर्दा कमलको फूललाई पवित्र मानिन्छ । लक्ष्मीलाई खुसी पार्ने सबैभन्दा ठूलो कुरा कमलको फूलनै हो । 

हिन्दु धर्ममा श्री लाई धन र पवित्र चिह्नको रुपमा लिइन्छ । यसलाई लक्ष्मीको रुपमा प्रयोग गरिन्छ अर्थात श्री भनेकै लक्ष्मी हो । त्यसैले लक्ष्मी पूजाको समयमा भित्ता र भुईमा श्री लेख्ने गरिन्छ । 

जहाँ प्रकाश हुन्छ त्यहा लक्ष्मी हुन्छिन् भन्ने धार्मिक मान्यता छ । अन्धकारमा कहिल्यै  पनि लक्ष्मी आउँदिनन् । त्यसैले तिहारलाई उज्यालो चाड  पनि भन्ने गरिएको हो । 

औँसीको रातमा उज्यालो पार्न दियोको महत्वपूर्ण भूमका हुन्छ । अन्धकारलाई हटाउन दियो बाल्ने चलन वैदिन कालदेखि नै रहेको थियो । त्यसैले दियो लक्ष्मीलाई खुसी पार्ने अर्को चिज हो । 

स्वस्तिक चिह्न लक्ष्मीलाई मनपर्ने  चिह्न हो । लक्ष्मी पूजाको समयमा लक्ष्मीलाई  घरभित्र भित्राउन घरको मूल ढोकामा स्वस्तिक चिह्न बनाइन्छ । 

लक्ष्मीलाई मनपर्ने अर्को चिह्न हो ॐ। सबै लक्ष्मीका मन्त्र ॐ बाट नै सुरु भएका छन् । ॐ वैदिन मन्त्र हो र यो सर्वब्यापी छ ।  पहेँलो कौडी लक्ष्मीलाई धेरै नै मनपर्छ । 

धनी र गरीब सबैले पहेँलो कौडी सजिलै पाउन सक्छन् । लक्ष्मीलाई खुसी पार्न पूजा गर्दा पहेँलो कौडी प्रयोग गर्न सकिन्छ । 

धेरै नरिवलको माथिल्लो भागमा तीनवटा थोप्ला हुन्छ तर एउटै मात्र थोप्ला भएको नरिवल पाउन धेरै गाह्रो हुन्छ । यो नरिवललाई लक्ष्मीको प्रतिकका रुपमा लिइन्छ । 

यो नरिवललाई खानको लागि भन्दा पनि लक्ष्मीको साधनाको लागि प्रयोग गरिन्छ । मानिसको लागि अन्न् सबैभन्दा ठूलो सम्पत्ति हो । 

अन्नको प्रचुरता समृद्धिको सूचक हो । जहाँ लक्ष्मीले वास गर्छिन, त्यहा धनधान्यले पूर्ण हुन्छ भन्ने जनविश्वास छ । अष्टलक्ष्मीमध्य एक लक्ष्मीको नाम धान्यलक्ष्मी पनि हो । 

यन्त्रहरुमा श्रीयन्त्रलाई सबैभन्दा ठूलो मानिन्छ । श्रीयन्त्रमानै लक्ष्मीले वास गर्छिन । श्रीयन्त्रनै लक्ष्मीको शक्तिको मूल स्रोत हो । 

त्यसैले श्रीयन्त्र जहाँ हुन्छ, त्यहाँ लक्ष्मीले वास गर्छिन भनिन्छ । भगवान कमलालाई लक्ष्मी स्वरुप मानिन्छ । कमलालाई छुट्टै देवता पनि  मान्ने गरिएको छ । 

कमलाको वाहन सेतो हात्ती हो । यही कारणले लक्ष्मीले सेतो हात्ती चढ्न मनपराउँछिन् भन्ने भनाई छ । वैदिक कालमा सुनले मुद्राको काम गरेको थियो । 

धन र समृद्धिको देवी लक्ष्मी भएकाले लक्ष्मीले सुन मन नपराउने कुरै भएन । त्यही भएर लक्ष्मी पूजा गर्दा धनसम्पत्ति रोखेर पूजा गर्ने गरिन्छ ।  

उल्लुलाई आधुनिक समयमा अपवित्र चरा माने पनि धार्मिक हिसाबले पवित्र मानिन्छ । उल्का वाहिनी लक्ष्मीको विविध नाममध्य एक हो । 

उल्कावाहिनीको वाहन उल्लु हो । यसरी लक्ष्मीको वाहन भनेको उल्लुलाई दूरदर्शी र बुद्धिमानको प्रतिकका रुपमा लिइन्छ ।  लक्ष्मीलाई विभिन्न रुपमा पूजा गरिन्छ तर आठवता लक्ष्मीलाई पूजा गर्ने चलन धेरै छ । 

यी आठओटा लक्ष्मीलाई अष्टलक्ष्मी भनिन्छ । यी लक्ष्मीहरुमा आदिलक्ष्मी, धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी, शान्तनालक्ष्मी, वीरलक्ष्मी, विजयलक्ष्मी, ऐश्वर्यलक्ष्मी पर्दछन् । 

यसैगरी सौभाग्यलक्ष्मी, राज्यलक्ष्मी, गृहलक्ष्मी, वैभवलक्ष्मी र भाग्यलक्ष्मीलाई पनि पूजा गर्ने चलन छ । लक्ष्मी मन्त्रहरुमा एक सय आठ, एक हजार आठ लक्ष्मीका नामहरु उल्लेख गरिएको पाइन्छ ।


प्रतिकृया दिनुहोस