किन १०० सिटको अडान दोहोर्‍याइहेका छन् शेखर कोइराला

मिती: 2022-09-12
news-banner

मंसिर ४ मा हुने संसदीय निर्वाचनमा सिट कसरी बाँड्ने भन्नेबारे सत्तारूढ गठबन्धनभित्र गलफती परिरहेका बेला नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला लगातार एउटै कुरा दोहोर्‍याइरहेका छन्।

कांग्रेस महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई चुनौती दिएका कोइराला पछिल्लो समय चुनाव केन्द्रित भाषण गरिरहेका छन्। ती हरेक भाषणमा उनी एउटा कुरा कहीँ पनि छुटाउँदैनन्- कांग्रेसले १०० सिटमा उम्मेदवारी दिनुपर्छ। 

प्रतिनिधि सभाका प्रत्यक्षतर्फ १६५ क्षेत्रमध्ये १०० मा कांग्रेसका उम्मेदवार नभए विद्रोह हुने कोइरालाको चेतावनी छ। कोइरालाले १०० सिटको अडान दोहोर्‍याइरहनुका पछाडि दुई कारण छन्। 

पहिलो, प्रत्यक्षमा १०० सिटमा उम्मेदवारी नदिने हो भने कांग्रेसले आगामी प्रतिनिधि सभामा एकल बहुमत ल्याउन सक्दैन। अहिलेको गठबन्धनबारे सुरूदेखि नै सशंकित कोइराला चुनावपछि कांग्रेस एक्लै सरकार बनाउन सक्ने हैसियतमा हुनुपर्ने तर्क गर्छन्। व्यवहारिक रूपमा भने त्यो सम्भव देखिँदैन।  

कांग्रेसको केन्द्रीय समितिले नै पाँच दलीय गठबन्धनसँग मिलेर मंसिर ४ को चुनावमा जाने निर्णय गरिसकेको छ। गठबन्धनसँग मिलेर जाँदा कांग्रेसले १०० सिट राख्ने र अरू ४ दलले  ६५ सिट बाँड्ने कुरा उनीहरूलाई मान्य छैन। 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रूपमै कांग्रेस ८० क्षेत्र हाराहारीमा सहमतिमा आउने बताइरहेका छन्। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले त्योभन्दा पनि घटेर कांग्रेसलाई ७० सिट दिनुपर्ने बताइरहेका छन्।

प्रतिकृया दिनुहोस