पुस २७, खोटाङ । सुनकोशी नदीस्थित अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै दिक्तेलबाट गाइघाट जाने बाटो खुलेको छ ।
सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरेपछि आज शनिबारबाट अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै तराई जाने छोटो बाटो खुलेको हो ।
उक्त पुल खोटाङको खोटेहाङ गाउँपालिका–९ को लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटारको सीमानामा पर्ने फोक्सिङटारमा निर्माण गरिएको हो । १ करोड २ लाख ९४ हजार ६ सय ७७ रुपैयाँको लागतमा उक्त पुल निर्मााण गरिएको सगरमाथा लोकमार्ग गाईघाट–दिक्तेल योजना कार्यालयका प्रमुख पशुपति ज्ञवाली जानकारी दिनुभयो ।
पूर्वी तराईका विभिन्न जिल्ला जोड्न प्रमुख मार्गमा पर्ने फोक्सिङटारमा ५० मिटर लम्बाई र साढे ३ मिटर चौडाई रहेको अस्थायी बेलिब्रिज आरएन कन्स्ट्रक्सन मल्टिपर्पोज प्रा.लि. उदयपुर कटारीले जडान गरेको उहाँले बताउनुभयो ।
अस्थायी बेलिब्रिज आज शनिबार कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले औपचारिकरुपमा उद्घाटन गर्नुभएको हो ।
फोक्सिङटार पुल बाढीले बगाएको साढे तीन महिनापछि अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याइएसँगै खोटाङबाट यसअघि बिच्छेद भएको पूर्वी तराईसँगको सिधा यातायात पुनः नियमित भएको छ ।
उक्त पुल सञ्चालनमा आएपछि भोजपर र खोटाङबाट गाइघाट हुँदै पुर्वी आउ जाउ गर्नेलाई सहज हुनेछ ।
यस अगाडी सोही ठाउँमा रहेको मोटरेवल पुल गत असोज १०, ११ र १२ गते आएको बाढीले बगाएपश्चात २ जिल्लाका नागरिकहरु घुर्मीमा रहेको पुल तरेर कष्टकर यात्रा गर्दैै कटारी पुगेर तराई जान बाध्य भएका थिए ।
फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्न र खोल्नका लागि सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय उदयपुरले मङ्सिर–२८ गते ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो ।
सम्झौता अनुसार ठेकेदार कम्पनीले नदीमा पानी बढेपछि उक्त बजेटबाटै अस्थायी बेलिब्रिज खोलेर स्टोर गरी राख्नुपर्ने बताइएको छ ।