खोटाङ, मंसिर ७ । कोशी प्रदेशका भौतिक पूर्वाधार एवं स्वास्थ्य मन्त्री प्रदेश सरकारका प्रवक्ता भुपेन्द्र राईले खोटाङको बराहपोखरी र जन्तेढुंगा जोड्ने बुवाखोलामा पक्की पुलको शिलान्यास गर्नुभएको छ ।
बिहिबार जिल्लाको बराहपोखरी गाउँपालिका ५ पौवासेरा र जन्तेढुंगा गाउँपालिका १ मैनाटार जोड्ने कुलोबाध स्थित बुवाखोला पक्की पुलको शिलान्यास गर्नु भएको हो ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यालय उदयपुरको आर्थिक सहयोगमा बन्ने पुलको बिहिबार योजनास्थलमा सार्वजनिक सुनुवाई गरेर मन्त्री राईले पुलको शिलान्यास गर्नु भएको हो ।
२०८१ बैशाख ३० गते भ्याट र पिएससहित १७ करोड ५८ लाख ७९ हजार ७ सय २९ रुपैयाँ ७१ पैसामा पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय उदयपुरसँग निर्माण कम्पनी जय बागेश्वरी–रेग्मी–चुरिया जेभी त्रियुगाले ठेक्का सम्झौता गरेको थियो ।
उक्त कम्पनीले २०८३ कार्तिक २१ गतेसम्म पुल निर्माण गरिसक्नु मन्त्री राईले बताउनुभयो ।
प्री–स्ट्रेस पक्की मोटरेबल पुलको लम्बाई १४८.४० मिटर र चौडाई ८.५० मिटर रहने सो पुल कोशी प्रदेशकै लामो हुने समेत उहाँको भनाइ छ ।
पुल निर्माणमा प्रादेशिक सडक पुल सहयोग एकाई ईटहरीले प्राविधिक सहयोग गर्ने बताइएको छ ।
पुल शिलान्यास कार्यक्रममा जन्तेढुंगा गाउँपालिका अध्यक्ष अरुणादेवी राई, बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बन्जारा, पालिका वडाध्यक्षहरुका साथै कर्मचारी, स्थानीयबासीको बाक्लो उपस्थिति रहको बराहपोखरी गाउँपालिकाका कर्मचारी निर बहादुर मगरले बताउनुभयो ।