संस्थागतसँगै सामुदायिक विद्यालयहरूले समेत विद्यार्थीहरूबाट चर्को शुल्क असुल गरेको भन्दै अनेरास्ववियु क्रान्तिकारीले बुटवलका ४ वटा विद्यालयमा तालाबन्दी गरेको छ।
विप्लव नेतृत्वको नेकपाबाट विभाजित भएपछि गठन भएको नेकपा बहमुत पार्टीनिकट अखिल क्रान्तिकारीले विद्यालयहरूले विद्यार्थीसँग चर्को शुल्क उठाएको भन्दै मंगलबार लेखा शाखामा तालाबन्दी गरेको हो।
बुटवलका सामुदायिक विद्यालयहरू कालिका मानवज्ञान मावि, नवीन औद्योगिक कद्दरबहादुर रिता मावि, कान्ति मावि र संस्थागततर्फ न्युहोराइजन माविको लेखा शाखामा तालाबन्दी गरेको हो।
विद्यार्थीहरूसँग चर्को शैक्षिक शुल्क असुल गर्ने, छात्रवृत्ति वितरणमअपारदर्शिता, शैक्षिक सामग्री आफैं बिक्री वितरण गरेर व्यवसाय गरेकोले त्यसको विरोधमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका रूपन्देही अध्यक्ष पारस राहदीले बताए।
सामुदायिक विद्यालयहरूले अभिभावकहरूबाट सहयोग स्वरूप रकम लिन सक्ने भए पनि सोही बहाना बनाएर चर्को शैक्षिक शुल्क उठाउने गरेको राहदीले बताए।
बुटवल उपमहानगरपालिकाको शिक्षा शाखालाई बोधार्थ गराई पहिलो चरणमा लेखा शाखामा तालाबन्दी गरिएको र माग पूरा नभए मूलगेटमै तालाबन्दी गरेर धर्ना बस्ने राहदीको भनाइ छ।